प्रत्येक वर्ष जेठ १५ गते हामी नेपालीहरू गणतन्त्र दिवस मनाउँछौँ । त्यो ऐतिहासिक दिन, जब जनताको आवाजले सत्ताको स्वरूप परिवर्तन गर्यो । यो केवल एउटा दिन मात्रै होइन, यो त हजारौँको बलिदान, लाखौँको सपना र सम्पूर्ण नेपाली जनताको आशाको प्रतिफल पनि हो । गणतन्त्र भन्नुको अर्थ हो शासक राजा होइन, जनताहरू स्वयं हुन् । शासन सत्ता सिंहदरबारको भित्ताभित्र सीमित नरहोस् भन्ने चाहना लिएर हजारौँले आन्दोलन गरे, कठोर यातना सहे, अनि बल्ल आज हामी स्वतन्त्र भएर श्वास फेर्न सकेका छौँ । यो दिन हामीले केवल मनाउने मात्र होइन, सम्झनु र बिर्सन नहुने कसमहरू दोहोर्याउने दिन हो ।
हिजो हामी एक शासकको आज्ञामा बाँधिएका थियौँ, आज हामी संविधानद्वारा निर्देशित छौँ । हिजो आवाज उठाउनु अपराध थियो, आज आलोचना पनि अधिकार हो । तर के गणतन्त्रको उपलब्धि हामीले सही रूपमा जोगाएका छौँ ? के नागरिक अधिकारहरू केवल कागजमा सीमित छन्, वा व्यवहारमा पनि परिलक्षित छन् ? गणतन्त्रको सही सम्मान तब मात्र हुन्छ, जब देशका सबै नागरिक समान अवसर र सम्मानका साथ बाँच्न सक्छन् । शिक्षा, स्वास्थ्य, रोजगार र न्यायमा पहुँच सबैलाई सुनिश्चित हुन्छ । आज हामीले आत्म मन्थन गर्नुपर्ने समय यही हो, के हामी त्यो उद्देश्य नजिक छौँ, कि अझै पनि अन्याय, भ्रष्टाचार र विभेदका जालमा अल्झिरहेका छौँ ?
गणतन्त्र दिवस हामीलाई सम्झाउँछ कि सत्ता परिवर्तनभन्दा पनि चेतनाको परिवर्तन आवश्यक छ । अधिकार पाएकोले मात्र होइन, जिम्मेवारी बुझेकोले मात्रै लोकतन्त्र बलियो हुन्छ । आजको दिन सबै नेपालीको लागि प्रेरणाको स्रोत बनोस् । गणतन्त्रको मर्म बुझ्ने र जोगाउने चेतना जागोस् । हिजोका सपनाहरू आजका यथार्थ बनुन्, अनि भोलिको पुस्ताले अझ समुन्नत, समावेशी र समृद्ध नेपाल पाओस् ।
गणतन्त्र दिवसको शुभकामना !