हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, २१ जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा कञ्चनपुरको बेलौरी नगरपालिकाले दलित विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी तथा उद्यमीलाई स्वरोजगार सामग्री वितरण गरेको छ । बुधबार आयोजित कार्यक्रममा कक्षा ८ उत्तीर्ण गरी कक्षा ९ मा अध्ययनरत सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला र स्टेशनरी सामग्री वितरण गरिएको हो ।

त्यसैगरी, स्नातक तहमा अध्ययनरत विद्यार्थीको लागि महाकाली बहुमुखी क्याम्पसलाई १ लाख रुपैयाँ बराबरको छात्रवृत्ति चेक हस्तान्तरण गरिएको छ । पालिकाबाहिर अध्ययनरत दलित विद्यार्थीलाई जनही १० हजार रुपैयाँका दरले नगद छात्रवृत्ति दिइएको छ ।

उद्यमशील युवालाई स्वरोजगारतर्फ प्रोत्साहन गर्न एक जना युवा उद्यमीलाई सैलुनसम्बन्धी सामग्री प्रदान गरिएको नगर प्रवक्ता हर्क बहादुर भुलले जानकारी दिनुभयो । कार्यक्रममा नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐरी, वडाध्यक्षद्वय कलबीर चौधरी र लालबहादुर चौधरी, महाकाली क्याम्पस प्रमुख धर्मराज जोशी, शिक्षा शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टलगायतको सहभागिता थियो ।

नगर प्रमुख चौधरीले जातीय विभेद अन्त्य र शैक्षिक गुणस्तर सुधारका लागि पालिका प्रतिबद्ध रहेको बताउनु भयो । “दोस्रो नगरसभाबाट नै बेलौरीलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन नगरपालिका घोषणा गरिएको हो,” उहाँले भन्नुभयो, “सबै समुदायका विद्यार्थीको क्षमता विकासका लागि आवश्यक बजेट छुट्याइएको छ ।”

नगर उपप्रमुख जोगराम चौधरीले यस्तो कार्यक्रमले दलित विद्यार्थीलाई थप प्रेरणा दिने उल्लेख गर्नुभयो । नगर प्रवक्ता हर्कबहादुर भुलले राज्यको परिवर्तनमा योगदान दिने दलित समुदाय शैक्षिक क्रान्तिमा पनि अग्रणी हुनुपर्नेमा जोड दिनु भयो ।
