दिनेशराज ओझा / हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० चैत । कञ्चनपुरको बेलौरी नगरपालिकामा विपन्न तथा लक्षित परिवारहरूको जीविकोपार्जन सुधार गर्ने उद्देश्यसहित कुखुरा पालन प्याकेज सहयोग वितरण गरिएको छ । निड्स नेपाल बेलौरी शाखा अन्तर्गत सञ्चालित लाइसेड र नेप्कोन परियोजनामार्फत बेलौरी नगरपालिका वडा नम्बर २, ३, ४, ५ र ९ का ५७ घरधुरीलाई कुखुरा पालन सामग्री सहयोग गरिएको हो । सहयोग अन्तर्गत प्रत्येक घरधुरीलाई १६ वटा चल्ला, दाना, फिडर, ड्रिकर तथा कुखुरा खोर (नेप्कोन परियोजनामार्फत) उपलब्ध गराइएको छ । यसले विपन्न परिवारलाई आत्मनिर्भर बनाउने र आयआर्जनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सोमबार आयोजित वितरण कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष किसन सिंह राना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले परियोजनाको उद्देश्य विपन्न समुदायलाई उत्पादनशील बनाउनु रहेको बताउनुभयो । “हाम्रो मुख्य लक्ष्य विपन्न परिवारलाई सहयोग गर्नु मात्र होइन, उनीहरूलाई आत्मनिर्भर र उत्पादनशील बनाउनु पनि हो । कुखुरा पालनजस्ता आयमूलक कार्यक्रमले समुदायमा दिगो परिवर्तन ल्याउने विश्वास हामीले लिएका छौँ,” रेग्मीले भन्नुभयो ।
त्यसैगरी, निड्स नेपाल बेलौरी शाखाका प्रमुख तथा नेप्कोन परियोजना संयोजक प्रेम बहादुर लुहारले समुदायमा आधारित आयआर्जन कार्यक्रमले प्रत्यक्ष रूपमा जीवनस्तर सुधार्ने बताउनुभयो । “हामीले लक्षित गरेका परिवारहरूलाई सीप र स्रोतसँग जोडेर दिगो जीविकोपार्जनतर्फ अघि बढाउने प्रयास गरेका छौँ । यो सहयोगले मात्र होइन, आगामी दिनमा उनीहरूको उत्पादन र बजार पहुँच विस्तारमा पनि सहयोग गर्नेछ,” विकले बताउनुभयो ।
नेप्कोन परियोजना अन्तर्गत सञ्चालन भइरहेको “विपन्न परिवारको लैङ्गिक र समतामूलक सहभागिता प्रवद्र्धन तथा सामाजिक आर्थिक जीवनयापन सहयोग” कार्यक्रमले बेलौरी नगरपालिकाका १४ समुदायका ४३४ परिवार तथा ६७५ विद्यालय जाने उमेरका बालबालिकालाई समेट्ने लक्ष्य राखेको छ । परियोजनाले गरिबी न्यूनीकरण, पूर्वाधार सहयोग, शिक्षा तथा स्वास्थ्य सेवामा सहज पहुँच विस्तार गर्नुका साथै समुदायमा समावेशी र सामूहिक प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य लिएको छ ।
परियोजनाका उद्देश्यहरूमा साना किसानहरूको क्षमता अभिवृद्धि र आयआर्जन सुधार, समुदाय तथा विद्यालयमा एकीकृत स्वास्थ्य र शिक्षाको अवस्था सुधार, समावेशी विपद् रोकथाम तथा लैङ्गिक समावेशी पैरवीलाई प्राथमिकतामा राखिएको छ । स्थानीय तह र सरोकारवालाको सहकार्यमा सञ्चालन गरिएको यो कार्यक्रमले बेलौरीका विपन्न परिवारहरूको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
