हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ बैशाख । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ चौफेरीस्थित श्री सिद्धनाथ माध्यमिक विद्यालयमा मानव बेचबिखन, लागु औषध दुर्व्यसन, लैङ्गिक हिंसा तथा बाल विवाह न्यूनीकरण सम्बन्धी विद्यालय स्तरीय जनचेतनामूलक कार्यक्रम गरिएको छ । शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर अन्तर्गत रहेको सम्पर्क कार्यालय बेलडाँडीले बेलडाँडी गाउँपालिका वडा नं. ३ र For the One संस्थासँग समन्वय गरी शुक्रबार आयोजना गरेको कार्यक्रम शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जीत सिंहको अध्यक्षतामा तथा वडा अध्यक्ष दुर्गाप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको हो ।

कार्यक्रममा वडा सदस्य पदमा सुनार, For the One संस्थाका केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सुनिल लामा, केस म्यानेजर पुष्पकला राई, इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी सहायक निरीक्षक शिवलाल सापकोटा, प्रहरी जवान बबिता उपाध्याय, सशस्त्र प्रहरी बल बीओपी झिलमिलाका प्रतिनिधि, सञ्चारकर्मी तथा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष दुर्गाप्रसाद चौधरीले समाजमा बढ्दो विकृति अन्त्य गर्न घर, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिका र किशोरकिशोरीलाई सही मार्गदर्शन दिन सके समाज सुरक्षित बन्ने उल्लेख गर्दै यस्ता कार्यक्रमलाई वडा कार्यालयले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

शान्ति पुनर्स्थापना गृह महेन्द्रनगर शाखाका संयोजक मनीषा न्यौपानेले विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै मानव बेचबिखनका नयाँ स्वरूपहरू अहिले गाउँसम्म फैलिँदै गएको बताउँदै रोजगारी, विवाह, अध्ययन र आकर्षक आम्दानीका नाममा हुने प्रलोभनबाट सचेत रहन आग्रह गर्नुभयो । उहाँले पीडितलाई संरक्षण, परामर्श र पुनर्स्थापनामा संस्था निरन्तर सक्रिय रहेको जानकारी दिनुभयो ।

For the One संस्थाका केन्द्रीय कार्यालयका कार्यक्रम संयोजक सुनिल लामाले बालबालिकाको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै विद्यालय स्तरबाट चेतना फैलाउन सके समाजमा दीर्घकालीन परिवर्तन सम्भव हुने धारणा राख्नुभयो । उहाँले किशोरकिशोरीलाई आत्मविश्वासी, सचेत र निर्णय गर्न योग्य र सक्षम बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले पछिल्लो समयमा बालबालिकाहरू विरुद्धका गतिविधिहरू रोकथाममा जोड दिँदै संस्थाले गर्ने कार्यहरूबारे प्रकाश पार्नुभयो । उहाँले लैङ्गिक हिंसाका स्वरूप, पीडितको अधिकार र सहयोग प्राप्त गर्ने उपायबारे प्रशिक्षण दिनुभयो भने बालिका तथा किशोरी सुरक्षा र कानुनी सहायता सम्बन्धी जानकारी पनि दिनुभयो ।

इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी सहायक निरीक्षक शिवलाल सापकोटाले लागु औषध, साइबर ठगी, बाल विवाह र मानव बेचबिखनजस्ता अपराध दिनानुदिन चुनौतीका रूपमा बढिरहेको बताउनुभयो । उहाँले “अपराधीभन्दा पहिले सचेत नागरिक बलियो हुनुपर्छ” भन्दै कुनै शङ्का लागे तत्काल प्रहरीलाई जानकारी गराउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो । लागु औषधको बढ्दो विकृति रोकथामका लागि किशोरकिशोरीहरू सचेत हुनुपर्ने कुरामा जोड दिँदै त्यसबारे प्रशिक्षण दिनुभयो ।

शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जीत सिंहले युवापुस्तालाई गलत बाटोबाट जोगाउन विद्यालय केन्द्रित अभियानलाई तीव्र बनाइएको बताउँदै सचेत नागरिक उत्पादन गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गर्नुभयो । उहाँले सबै निकायको सहकार्यबिना सामाजिक अपराध अन्त्य सम्भव नरहेको भन्दै एकजुट हुन आग्रह गर्नुभयो ।

शान्ति पुनर्स्थापना गृह महेन्द्रनगर शाखा अन्तर्गत सम्पर्क कार्यालय बेलडाँडीकी परामर्शदाता जमुना सिंहले विभिन्न निकायसँग समन्वय गरी कार्यक्रम व्यवस्थापन गर्नुभएको थियो । यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मरक्षा, कानुनी चेतना, सामाजिक जिम्मेवारीबोध र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ । स्थानीय स्तरमा अपराध न्यूनीकरण र सुरक्षित समाज निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूको जोड छ ।

