हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । अचानक गाउँभर साइरन बज्यो । सम्भावित बाढीको सूचना फैलियो । स्थानीयवासीहरू हतारहतार घरबाट बाहिर निस्किए । कसैले खाद्यान्न बोके, कसैले महत्त्वपूर्ण कागजात सम्हाले । बाख्रा तथा अन्य चौपायालाई समेत सुरक्षित स्थानतर्फ लगियो । केहीबेरका लागि कञ्चनपुरको लालझाडी गाउँपालिका-२ कञ्जमा वास्तविक विपद्को अवस्था सिर्जना भएजस्तै देखियो ।
तर यो वास्तविक बाढी थिएन । विश्व वातावरण दिवसको अवसरमा समुदायको विपद् पूर्वतयारी, समन्वय क्षमता र उद्धार व्यवस्थाको परीक्षण गर्न आयोजित बाढीजन्य विपद् व्यवस्थापनसम्बन्धी कृत्रिम घटना अभ्यास (मक ड्रिल) थियो ।
लालझाडी गाउँपालिका, क्लाइमेट रेजिलिएन्स एलायन्स (Climate Resilience Alliance), PESWAN, Practical Action, Mercy Corps तथा कञ्ज सामुदायिक विपद् व्यवस्थापन समितिको समन्वयमा आयोजित अभ्यासमा एक सयभन्दा बढी स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा समुदायका अगुवाहरूको सहभागिता रहेको थियो ।
बढ्दो जलवायु परिवर्तनका कारण बाढी, डुबान तथा अन्य मौसमजन्य विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा समुदाय, स्थानीय सरकार तथा सरोकारवाला निकायहरू कत्तिको तयारी अवस्थामा छन् भन्ने परीक्षण गर्नुका साथै विपद् आउनुअघि अपनाउनुपर्ने सावधानीबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभ्यास सञ्चालन गरिएको आयोजकहरूले बताएका छन् ।
अभ्यासका क्रममा बाढीको जोखिम बढेको काल्पनिक अवस्था सिर्जना गरिएको थियो । साइरनमार्फत पूर्वसूचना प्रवाह गरिएपछि समुदायका सदस्यहरूले तत्काल प्रतिक्रिया जनाएका थिए । उनीहरूले घरमा रहेका खाद्यान्न, लत्ताकपडा, महत्त्वपूर्ण कागजात तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित स्थानतर्फ सार्ने अभ्यास गरेका थिए । पशुचौपाया संरक्षणलाई समेत प्राथमिकतामा राख्दै बाख्रा लगायतका चौपायालाई सुरक्षित आश्रयस्थलमा पुर्याइएको थियो ।
त्यसैगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अन्य जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रक्रिया प्रदर्शन गरिएको थियो । उद्धार टोलीले घाइतेको उद्धार, स्ट्रेचरमार्फत सुरक्षित स्थानमा सार्ने, प्राथमिक उपचार उपलब्ध गराउने तथा आपत्कालीन व्यवस्थापनका गतिविधिहरू अभ्यास गरेको थियो । अभ्यासका क्रममा पूर्वसूचना प्रणाली, समुदायस्तरीय समन्वय, खोज तथा उद्धार, राहत व्यवस्थापन र सुरक्षित आश्रयस्थल सञ्चालनका पक्षहरू समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा लालझाडी गाउँपालिका अध्यक्ष निर्मल राना, उपाध्यक्ष सपना चौधरी राना, प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्की, वडा नम्बर २ का अध्यक्ष आशाराम राना, विपद् व्यवस्थापन सम्पर्क व्यक्ति हेमराज उपाध्याय लगायत जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सञ्चारकर्मी, गाउँका भलमन्सा तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कञ्ज सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष खुसीराम रानाले विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने परम्परागत अभ्यासभन्दा विपद् आउनुअघि नै समुदायलाई सक्षम, सचेत र सङ्गठित बनाउनु आवश्यक रहेको बताए । जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्दै गइरहेका बेला यस्ता अभ्यासले समुदायको आत्मविश्वास बढाउनुका साथै वास्तविक सङ्कटका बेला अपनाउनुपर्ने व्यवहार सिकाउने उनको भनाइ थियो ।
पेसवानका फिल्ड अफिसर विवेक छेडालले विपद्को समयमा सूचना प्रवाह, समन्वय, उद्धार तथा सुरक्षित स्थानान्तरण प्रक्रियामा देखिन सक्ने कमजोरी पहिचान गरी सुधारका उपाय खोज्न यस्ता अभ्यास प्रभावकारी हुने बताए । समुदायमा पूर्वसूचना प्रणालीप्रतिको विश्वास बढाउनु, विपद्का बेला कसले के भूमिका निर्वाह गर्ने भन्ने स्पष्टता ल्याउनु तथा स्थानीय तह, समुदाय र सुरक्षा निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउनु अभ्यासको मुख्य उद्देश्य रहेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी सबैभन्दा प्रभावकारी उपाय भएको बताए । जलवायु परिवर्तनका कारण बाढी, डुबान लगायतका विपद्का घटनाहरू बढ्दै गएको उल्लेख गर्दै उनले विपद् आउनुअघि नै समुदायलाई सचेत, सक्षम र सङ्गठित बनाउन यस्ता अभ्यास आवश्यक रहेको बताए । स्थानीय सरकार, समुदाय, सुरक्षा निकाय र सरोकारवाला संस्थाबीचको समन्वयलाई थप प्रभावकारी बनाउँदै सम्भावित क्षति न्यूनीकरण गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो ।
लालझाडी गाउँपालिकाकी उपाध्यक्ष सपना चौधरी रानाले लालझाडी क्षेत्र विगतदेखि नै बाढी तथा डुबानको जोखिममा रहेको उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता अभिवृद्धिका लागि यस्ता अभ्यासलाई निरन्तरता दिन आवश्यक रहेको बताइन् ।
गाउँपालिका अध्यक्ष निर्मल रानाले विश्व वातावरण दिवसको अवसरमा सम्पन्न उक्त अभ्यासले वातावरणीय परिवर्तनसँगै बढ्दो विपद् जोखिमप्रति समुदायलाई सचेत गराउनुका साथै विपद्को सामना गर्न आवश्यक ज्ञान, सीप र तयारीलाई व्यवहारिक रूपमा प्रदर्शन गरेको बताए । उनले विपद् व्यवस्थापनमा स्थानीय सरकार, समुदाय र सरोकारवाला निकायबीचको सहकार्य अझ सुदृढ बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
लालझाडी गाउँपालिकाका ९ वटा समुदायमा यस्तै प्रकारका विपद् पूर्वतयारी अभ्यास सञ्चालन गरिएको छ । साथै विभिन्न संघसंस्थाहरूको सक्रियतामा गाउँपालिका क्षेत्रका विभिन्न स्थानहरूमा वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रमहरू समेत सञ्चालन गरिएको जनाइएको छ । विशेषगरी वर्षायाममा नदी तथा खोलाहरूमा आउने बाढीका कारण प्रभावित हुँदै आएको लालझाडी क्षेत्रमा गरिएको यो अभ्यासले विपद् आउनुअघि नै तयारी, समन्वय र सामूहिक प्रयासमार्फत जनधनको क्षति न्यूनीकरण गर्न सकिने सन्देश दिएको सहभागीहरूले बताएका छन् ।