हरिश्चन्द्र बाग, कञ्चनपुर, ०६ असार । कञ्चनपुरको बेलौरी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान सुरु गरिएको छ । अभियानअन्तर्गत श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र सहित पालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा वडा स्तरीय कार्ययोजना निर्माण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका सिनियर अहेव मानबहादुर चन्दका अनुसार अब हरेक टोल-बस्तीमा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थितिमा नसर्ने रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गरिनेछ । अभियानअन्तर्गत उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपात (बीएमआई) परीक्षण गरिनेछ । यस अभियानले नसर्ने रोगको समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्शमा सहज पहुँच पुर्याउने विश्वास गरिएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार आयोजित ‘नसर्ने रोगको जोखिम न्यूनीकरण तथा प्रभावकारी नियन्त्रणका लागि नसर्ने रोग नियन्त्रण तथा रोकथाम अभियान-२०८३’ सम्बन्धी वडा स्तरीय कार्ययोजना निर्माण तथा अभिमुखीकरण कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणका क्रममा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख गोविन्द विष्टले उच्च रक्तचाप, मधुमेह, मृगौला सम्बन्धी रोग तथा शरीरको उचाइ र तौलको अनुपातमार्फत स्वास्थ्य जोखिम पहिचान गर्ने प्रक्रियाबारे जानकारी गराउनुभयो । उहाँले स्वस्थ खानपान, नियमित व्यायाम, धूम्रपान तथा मदिरा सेवनबाट टाढा रहँदै स्वस्थ जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिम उल्लेखनीय रूपमा घटाउन सकिने बताउनुभयो ।

विष्टले अधिकांश मानिसहरू बिरामी परेपछि मात्र स्वास्थ्य परीक्षण गराउने प्रवृत्ति रहेको उल्लेख गर्दै रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिन समय-समयमा स्वास्थ्य परीक्षण गराउनु आवश्यक रहेको बताउनुभयो । नियमित स्वास्थ्य जाँच, सन्तुलित आहार र सक्रिय जीवनशैली अपनाउन सके नसर्ने रोगको जोखिम न्यूनीकरण गर्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्दै नसर्ने रोग नियन्त्रणमा स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

वडा सदस्य रुद्र अधिकारीले नसर्ने रोग अहिले समुदायस्तरमै चुनौतीको विषय बनिरहेको बताउँदै यसको रोकथामका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण र जीवनशैली सुधार अपरिहार्य रहेको बताउनुभयो । उहाँले स्थानीय सरकारले स्वास्थ्यसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै सबै नागरिकलाई समयमै स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो । अभियानमार्फत बेलौरी नगरपालिकाभित्रका नागरिकमा नसर्ने रोगप्रति सचेतना अभिवृद्धि हुनुका साथै प्रारम्भिक चरणमै रोग पहिचान गरी जटिल अवस्था आउन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
