हरिश्चन्द्र बाग / प्रकाश भट्ट, कञ्चनपुर, १२ असार । सुदूरपश्चिम विश्वविद्यालयको छैटौँ दीक्षान्त समारोहमा यस पटक कुल २ हजार ४ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा आयोजित समारोहमा स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तह पार गरेका विद्यार्थीहरूलाई दीक्षित गरिएको हो । विश्वविद्यालयका सहकुलपति एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं शिक्षाविद् प्राध्यापक तुलसीप्रसाद जोशीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।
समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका उपकुलपति प्राध्यापक यज्ञराज पाठकले सुदूरपश्चिम विश्वविद्यालय स्थापनापछि राजधानीबाट टाढा रहेको महेन्द्रनगर उच्च शिक्षाको महत्त्वपूर्ण गन्तव्यका रूपमा स्थापित भएको बताउनुभयो । उहाँले दीक्षित विद्यार्थीहरू संसारको जुनसुकै स्थानमा पुगे पनि आफ्नो ज्ञान, सीप र क्षमताबाट विश्वविद्यालय तथा देशको प्रतिष्ठा उच्च राख्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
उपकुलपति पाठकका अनुसार विश्वविद्यालयमा हाल मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन, शिक्षा शास्त्र, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि विज्ञान, कानुन, स्वास्थ्य विज्ञान र वन विज्ञान गरी ९ वटा सङ्काय सञ्चालनमा छन् । देशभर रहेका १६ वटा आङ्गिक तथा ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस मार्फत हाल २४ हजार ८ सय ९५ जना विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयमा ५ सय २२ जना प्राध्यापक र २ सय २७ जना कर्मचारी सहित ७ सय ४९ सदस्यीय शैक्षिक परिवार रहेको जानकारी पनि उहाँले दिनुभयो ।
विश्वविद्यालयलाई अनुसन्धानमुखी शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यअनुसार दर्शनाचार्य र विद्यावारिधि कार्यक्रम सञ्चालन गरिएको बताउँदै उहाँले यस वर्ष २ जनाले विद्यावारिधि र ७ जनाले दर्शनाचार्य उपाधि प्राप्त गरेको जानकारी दिनुभयो । अनुसन्धान संस्कृतिको प्रवर्द्धनका लागि विश्वविद्यालय अनुदान आयोगको सहयोगमा शिक्षकहरूलाई विभिन्न अनुसन्धान अनुदान उपलब्ध गराइएको पनि उहाँको भनाइ छ । उहाँले विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी खोज्ने मात्र होइन, रोजगारी सिर्जना गर्ने जनशक्ति बनाउने लक्ष्य राखेको बताउनुभयो । त्यसका लागि नवप्रवर्तन प्रवर्द्धन केन्द्र स्थापना गरी बीउ पुँजी कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
साथै सुदूरपश्चिमको भाषा, संस्कृति र साहित्य संरक्षण तथा अनुसन्धानलाई प्राथमिकता दिँदै लोककथाहरूको सङ्कलन तथा प्रकाशन सम्पन्न भइसकेको र अन्य अनुसन्धान कार्यहरू पनि अगाडि बढिरहेको बताउनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विश्वविद्यालयले अन्तर्राष्ट्रिय सहकार्यलाई समेत विस्तार गरेको छ । यसै वर्ष भारतका प्राविधिक तथा कृषि विश्वविद्यालयसहित ६ वटा अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समझदारी पत्र मा हस्ताक्षर गरिएको जनाइएको छ । स्वदेशमा भाषा आयोग तथा अन्य विश्वविद्यालयहरूसँग पनि सहकार्य विस्तार गरिएको छ ।
यसैबीच उपकुलपति पाठकले विश्वविद्यालयले विभिन्न संरचनागत तथा आर्थिक चुनौतीहरूको सामना गरिरहेको बताउनुभयो । उहाँका अनुसार सङ्गठन तथा व्यवस्थापन प्रतिवेदन कार्यान्वयन नहुँदा आवश्यक दरबन्दी व्यवस्थापन हुन सकेको छैन । प्राविधिक विषयमा स्थायी जनशक्तिको अभाव रहेको र सीमित बजेटका कारण छात्रावास, पुस्तकालय, सभा हल तथा परीक्षा भवन लगायतका भौतिक पूर्वाधार निर्माणमा कठिनाइ भइरहेको छ ।
बजेट अभावकै कारण पहाडी जिल्लामा कार्यरत शिक्षक तथा कर्मचारीलाई स्थानीय भत्ता उपलब्ध गराउन नसकिएको र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न कठिनाइ हुँदा कर्मचारी पलायनको समस्या बढ्दै गएको उहाँले बताउनुभयो । त्यस्तै १५ वटा क्याम्पसको समायोजन प्रक्रिया अझै अपूर्ण रहेको, सिद्धनाथ विज्ञान क्याम्पस ऐनअनुसार पूर्ण रूपमा विश्वविद्यालयमा समायोजन हुन नसकेको तथा टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको करिब ३ सय बिघा जग्गा अतिक्रमणमा पर्दा कृषि विज्ञान सङ्काय विस्तार प्रभावित भएको विषयमा समेत उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मन्त्री पोखरेलद्वारा टीकापुर क्याम्पसको जग्गा अतिक्रमणमुक्त गर्ने र बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता ।।
दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दीक्षित हुने सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै सफल र सुखद भविष्यको कामना गर्नुभयो । सुदूरपश्चिम विश्वविद्यालयले स्थापनाको छोटो अवधिमै नेपालको उच्च शिक्षाको विकासमा खेलेको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयले मानविकी, शिक्षा शास्त्र र व्यवस्थापनका साथै विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कम्प्युटर विज्ञान, वन विज्ञान, कृषि विज्ञान, कानुन तथा स्वास्थ्य विज्ञानजस्ता व्यावसायिक र प्राविधिक विषयहरू विस्तार गर्दै लगेकोमा खुसी व्यक्त गर्नुभयो । सेमेस्टर प्रणाली लागू गर्ने, आधुनिक प्रविधिको प्रयोगमार्फत पठनपाठन सञ्चालन गर्ने तथा बजारको मागअनुसारका कार्यक्रम थप्ने कार्यले विश्वविद्यालय विद्यार्थीहरूको आकर्षणको केन्द्र बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
विश्वविद्यालयले व्यहोरिरहेका समस्याहरूबारे आफू जानकार रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले ती समस्याहरू समाधानका लागि प्रयत्न गर्ने आश्वासन दिनुभयो । सामुदायिक क्याम्पसहरूको पूर्ण समायोजन लगायतका समस्या समाधान गर्न तथा सुदूरपश्चिम विश्वविद्यालयको उन्नति र विकासका लागि नेपाल सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । मन्त्री पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको टीकापुर बहुमुखी क्याम्पसको अतिक्रमित ३ सय बिघा जग्गा अतिक्रमणमुक्त गराउने घोषणा गर्नुभयो ।
यसका साथै विश्वविद्यालय ऐन २०६७ को पूर्ण कार्यान्वयनका लागि सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समावेश गर्ने तथा डडेलधुरामा यथाशीघ्र एमबिबिएसको पठनपाठन सुरु गर्ने वातावरण सिर्जना गर्न डडेलधुरा अस्पतालको ओएनएम पूरा गर्नेतर्फ आफ्नो प्रयास रहने बताउनुभयो । देशको वर्तमान शैक्षिक अवस्था र युवा पलायनप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले दक्ष तथा अर्धदक्ष जनशक्ति रोजगारीको खोजीमा बाहिरिनुपर्ने अवस्थालाई बदल्नुपर्ने बताउनुभयो । हाम्रा शैक्षिक कार्यक्रमहरू जीवनका आवश्यकतासँग मेल खाने भए कि भएनन्, वा सिकेको ज्ञान प्रमाणपत्रमा मात्र सीमित भयो कि भन्नेबारे समीक्षा गर्नुपर्ने बेला आएको उहाँले उल्लेख गर्नुभयो ।