काठमाडौँ । Navderma Skin, Hair Transplant & Laser Aesthetics ले नयाँ बानेश्वरस्थित नयाँ तथा आधुनिक परिसरबाट आफ्नो सेवा विस्तार गर्दै हेयर ट्रान्सप्लान्ट र अत्याधुनिक Fractional CO₂ Laser सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ ।
विगत सात वर्षदेखि छाला, सौन्दर्य तथा डर्माटोलोजी सेवामा सक्रिय नवडर्माले सेवा विस्तारसँगै आयोजित विशेष समारोहमा हेयर ट्रान्सप्लान्ट सेवाको औपचारिक शुभारम्भ गर्नुका साथै अत्याधुनिक Fractional CO₂ Laser Machine को उद्घाटन गरेको हो । यससँगै सेवाग्राहीले अन्तर्राष्ट्रियस्तरको प्रविधिमा आधारित छाला, कपाल तथा लेजर एस्थेटिक्ससम्बन्धी उपचार एउटै स्थानबाट प्राप्त गर्न सक्ने जनाइएको छ ।
नवडर्माकी प्रवन्ध निर्देशक श्रेया पाण्डेयले उपयुक्त मूल्यमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नयाँ स्थानमा अत्याधुनिक प्रविधि, आरामदायी पूर्वाधार तथा विशेषज्ञ चिकित्सकहरूको अनुभवी टोलीमार्फत गुणस्तरीय, सुरक्षित र व्यक्तिगत उपचार सेवा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताइन् । संस्थाका अनुसार हेयर ट्रान्सप्लान्ट सेवा विशेषगरी कपाल झर्ने वा टाउकोको कपाल पातलो हुने समस्याबाट प्रभावित व्यक्तिहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको हो ।
यसले प्राकृतिक देखिने तथा दीर्घकालीन समाधान उपलब्ध गराउने विश्वास गरिएको छ । त्यसैगरी, नयाँ Fractional CO₂ Laser Machine मार्फत छालाको दाग, एक्नेका दाग, असमान बनावट, पोर्स, स्ट्रेच मार्क तथा अन्य छालासम्बन्धी समस्याको आधुनिक र प्रभावकारी उपचार गर्न सकिने संस्थाले जनाएको छ ।

नवडर्मा व्यवस्थापनले सात वर्षदेखि सेवाग्राहीले गरेको विश्वासलाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि मान्दै आधुनिक प्रविधिसहित अझ व्यापक र परिणाममुखी उपचार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै आगामी दिनमा पनि अन्तर्राष्ट्रियस्तरका प्रविधि र विशेषज्ञ चिकित्सकीय सेवा नेपालमै उपलब्ध गराउँदै सेवाग्राहीको सौन्दर्य, आत्मविश्वास र स्वास्थ्य प्रवर्द्धनमा निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।