हरिश्चन्द्र बाग / माधव पौडेल, कञ्चनपुर, २० असार । कञ्चनपुरको बेलौरी उद्योग वाणिज्य संघको पाँचौँ वार्षिक साधारण सभाले नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरेको छ । साधारण सभाबाट अध्यक्षमा प्रकाशराज पन्त सर्वसम्मत चयन हुनुभएको छ । साधारण सभाबाट वरिष्ठ उपाध्यक्षमा महेन्द्रसिंह बुडाल, उद्योग उपाध्यक्षमा राजेन्द्रबहादुर चन्द, वाणिज्य उपाध्यक्षमा वसन्त पुन मगर, महासचिवमा रामेश्वर न्यौपाने, सचिवमा रिता चौधरी तथा कोषाध्यक्षमा रघुवीर भण्डारी सर्वसम्मत चयन हुनुभएको छ । त्यसैगरी कार्यसमिति सदस्यहरूमा कैलाशसिंह बिष्ट, यमबहादुर खत्री, विष्णुमाया अर्याल कँडेल, बासुदेव भट्ट "शीतल", दिनेश चौधरी, यलोना श्रेष्ठ, तारासिंह बिष्ट तथा अशोक चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष पन्तले उद्योगी व्यवसायीको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन तथा निजी क्षेत्रलाई बलियो बनाउने कार्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले व्यवसायीहरूले भोगिरहेका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै लगानीमैत्री वातावरण निर्माण, बजार व्यवस्थापन, व्यवसायीहरूको क्षमता अभिवृद्धि तथा बेलौरीको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने दिशामा संघले सक्रिय भूमिका खेल्ने बताउनुभयो । उहाँले बेलौरी उद्योग वाणिज्य संघलाई सबै व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्दै पारदर्शी, उत्तरदायी र प्रभावकारी नेतृत्व प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
त्यस्तै नवनिर्वाचित महासचिव रामेश्वर न्यौपानेले संघलाई अझ व्यवस्थित, क्रियाशील र व्यवसायीमैत्री संस्था बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले व्यवसायीहरूको आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउने, संस्थागत सुशासनलाई थप मजबुत बनाउने तथा नयाँ पुस्ताका उद्यमीलाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । संघका सबै सदस्यबीच सहकार्य, एकता र विश्वासलाई अझ बलियो बनाउँदै संस्थालाई उदाहरणीय बनाउने उहाँको भनाइ थियो ।
नयाँ कार्यसमिति चयन गर्नुपूर्व बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा तत्कालीन अध्यक्ष हिरा सिंह बिष्टको अध्यक्षतामा आयोजित साधारण सभाको उद्घाटन सत्रमा नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष पुष्पराज कुँवर प्रमुख अतिथि रहनुभएको थियो भने कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर ओझा विशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्रप्रकाश साउँद, बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल, संघका पूर्वअध्यक्षहरू टेकबहादुर साउद, आत्मराम दाहाल, धनेशदत्त पन्त र लक्ष्मीनारायण चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
साधारण सभामा संघका कोषाध्यक्ष महेन्द्रसिंह बुडालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । महासचिव गोविन्द सापकोटाले सांगठनिक विवरण प्रस्तुत गर्नुभएको थियोे । त्यसपछि नयाँ कार्यसमितिका लागि बनेको निर्वाचन मण्डलमा नारायणसिंह ऐरी, शेरबहादुर बिष्ट र विष्णुप्रसाद तिवारी रहनुभएको थियो । साधारण सभाले आगामी कार्यकालमा स्थानीय उद्योग, व्यापार तथा उद्यमशीलताको विकास, व्यवसायमैत्री वातावरण निर्माण, निजी क्षेत्रका समस्या समाधान तथा संस्थागत सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गरेको छ । उद्योगी व्यवसायीहरूले नयाँ नेतृत्वबाट बेलौरीको आर्थिक गतिविधिलाई थप सशक्त बनाउने, व्यवसायीहरूको साझा आवाजलाई प्रभावकारी रूपमा उठाउने तथा निजी क्षेत्रको हितमा परिणाममुखी काम हुने अपेक्षा गरेका छन् ।