हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० बैशाख । कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर १० भीमबस्तीको विजय मावि मतदान केन्द्रमा विवाद हुँदा मतदान कार्य नै स्थगित गरिएको छ । मृत्यु भइसकेका र विदेशमा रहेका व्यक्तिहरूको नामबाट फर्जी मत हालेको भन्दै राजनीतिक दलका प्रतिनिधिहरूले विरोध गरेपछि विवाद भएको हो । दिउँसो १ बजेदेखि स्थगित भएको मतदान कार्य पुनः सुचारु गर्न सर्वदलीय सर्वपक्षीय छलफल गरिए पनि सहमति हुन नसक्दा मतदान कार्य नै स्थगित गर्नु परेको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले जानकारी दिनुभयो ।
पुनर्वासका अन्य मतदान स्थलहरूमा भने निर्विवाद मतदान कार्य सम्पन्न भएको छ । मत पेटिकाहरू सङ्कलन गर्ने कार्य गरिएको निर्वाचन अधिकृत जोशीले बताउनुभयो । विवादित ठाउँमा निर्वाचन आयोगले सूचना जारी गरेको समयमा पुनः मतदान गरिने बताइएको छ । योसँगै पुनर्वास नगरपालिकामा अर्को व्यवस्था नभएसम्मका लागि मत गणना सहित निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको छ । कञ्चनपुरका अन्य पालिकाहरूमा भने निर्बाध रूपमा मतदान सम्पन्न भएको बताइएको छ । मत पेटिकाहरू गणना स्थलमा जम्मा गरिसकेपछि मत गणना सुरु गरिने छ ।