हरिश्चन्द्र बाग, कञ्चनपुर, ०१ बैशाख । नयाँ वर्ष वि.सं. २०८० सालको आज पहिलो दिन वैशाख १ गते । सुदूरपश्चिमका पहाडी समुदायले विसु पर्व मनाउँदै छन् । हरेक वर्ष बैशाख एक गतेलाई सुदूरपश्चिमेलीहरूले विसु पर्वका रूपमा मनाउने गर्छन् । खास गरी सुदूरपश्चिमका पहाडी ७ जिल्ला र यिनै जिल्लाबाट कञ्चनपुर र कैलाली बसाई सरी आएकाहरूले पनि नयाँ वर्षलाई विसु पर्वका रूपमा मनाउने गर्दछन् ।
विसु पर्वमा मिठा–मिठा खानाका परिकार खाने र सिस्नो लगाउने प्रचलन पनि रहेको छ । एकापसमा सिस्नु लगायो भने सबै विष नष्ट हुन्छ भन्ने जनविश्वास भएकोले यसो गरिने स्थानीय बताउँछन् । यो पर्वमा विशेष गरेर देवर–भाउजूले सिस्नो लगाउने गर्दछन् । तर पछिल्लो समयमा यो प्रचलन लोप हुँदै गएको छ । स्वास्थ्यका दृष्टिकोणले पनि सिस्नु अत्यधिक मात्रामा भिटामिन ए भएको र यसको नियमित सेवनले पत्थरीको रोगबाट समेत मुक्ति पाइन्छ ।
यस्तै सुदूरपश्चिमकै डोटी, अछाम, बझाङ र बाजुरामा आज पुत्ला खेल्ने बिसुलोडा चलाउने परम्परा रहेको छ । नयाँ वर्षमा कसैलाई रोग नलागोस्, शरीरमा भएका सबै विषहरू नष्ट होउन् भनेर विसुलोडा चलाउने परम्परा रहेको छ । यो समयमा सुदूरपश्चिमेलीहरूका घरघरमा लिपपोत तथा रंगरोगन गरी घर तथा विभिन्न शक्ति पीठहरूमा पनि पूजाआजा गरिन्छ । पढाइ तथा रोजगारको सिलसिलामा देशका अन्य सहर तथा विदेश गएका सुदूरपश्चिमेलीहरू विसु पर्व मनाउन कै लागि घर फर्किएपछि सुदूरपश्चिमका ग्रामीण क्षेत्रमा विसुको चहलपहल झन् बढेको छ ।
सुदूरपश्चिमकै तराईका जिल्ला कञ्चनपुर र कैलालीका थारु समुदायले माघ १ गते मकर सङ्क्रान्तिका दिन नयाँ वर्ष मनाउने भए पनि हाल आएर थारु समुदायले पनि पहाडी समुदायको संस्कृतिको अनुसरण गर्दै आजका दिन मीठा मीठा खानेकुराहरू खाने, साथीभाइ तथा आफन्तजनसँग भेटघाट गर्ने, एक आपसमा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । नेपाल सरकारले नयाँ वर्षको अवसरमा सार्वजनिक बिदा दिने गरेको छ ।