हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ जेठ । कञ्चनपुरको बेलौरी नगरपालिका भित्र रहेका दृष्टिविहीनहरूलाई राष्ट्रिय वाणिज्य बैङ्क शाखा बेलौरीले सेतो छडी वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैङ्कले आइतबार बेलौरी नगरपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरी नगर क्षेत्र भित्र रहेका ४७ जना दृष्टिविहीनहरूलाई सेतो छडी वितरण गरेको राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय बेलौरीका शाखा प्रबन्धक महेशराज भट्टले जानकारी दिनुभयो । बेलौरी नगरपालिका कार्यालय र नेपाल नेत्रहीन संघ कञ्चनपुरसँग समन्वय गरेर उक्त कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।

दृष्टिविहीनहरूका लागि बलियो सहाराका रूपमा रहने सेतो छडी उपलब्ध गराएकोमा बैङ्क प्रति आभार व्यक्त गर्दै नेपाल नेत्रहीन संघ कञ्चनपुरका अध्यक्ष प्रेम बहादुर बोहराले दृष्टिविहीनहरूका समस्यालाई समाधान गर्न सक्ने गरी र जीविकोपार्जनका लागि क्षमता अनुसारको सीपमूलक तालिमको व्यवस्था गरिदिन स्थानीय सरकारसँग माग गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख विमला बजगाईँले दृष्टिविहीन सहित सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि बेलौरी नगरपालिकाले विगतका गरेका क्रियाकलापहरूको सार संक्षेप प्रकाश पार्नुभयो ।
बेलौरी नगरपालिकाले चालु आर्थिक वर्षमा मात्रै पनि दृष्टि विहीनहरूका लागि अगरबत्ती बनाउने सीप सम्बन्धी तालिम प्रदान गरेको थियो । यद्यपि उक्त तालिममा सबैले लाभ लिन नसकेकोले आगामी दिनहरूमा दृष्टिविहीनहरूसँग सरसल्लाह गरेर उहाँहरूकै माग बमोजिम कुनै न कुनै सीपमूलक कार्यक्रम तय गरिने बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशीला लेखकले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले विगतमा सम्बोधन हुन नसकेका कुराहरूलाई नयाँ आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा समावेश गरिने प्रतिबद्धता जनाउनु भयो । दृष्टिविहीनहरूको जीविकोपार्जनका लागि र उहाँहरूलाई आत्मनिर्भर बनाउने गरी सीप प्रदान गर्ने उद्देश्यले नयाँ कार्यक्रम ल्याउने नगर उपप्रमुख चौधरीको भनाइ छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय बेलौरीले दृष्टिविहीनहरूलाई पहिलो पटक सेतो छडी वितरण गरेर उदाहरणीय कार्य गरेको कार्यक्रममा सहभागी वक्ताहरूको भनाइ छ । राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय बेलौरीले गत विगतका वर्षहरूमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर विभिन्न सामाजिक कार्य गर्दै आएको थियो । यस किसिमका कार्यक्रमहरूलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बैङ्कले जनाएको छ । उद्यम गर्न सक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई बैङ्कले कर्जा समेत दिने गरेको र नयाँ खाता खोल्न चाहने व्यक्तिका लागि निःशुल्क खाता खोल्न सकिने र त्यसमा थप एक सय रुपैयाँ बैङ्कले नै जम्मा गरिदिने गरेको कार्यक्रममा जानकारी दिइएको छ ।
