हरिश्चन्द्र बाग, कञ्चनपुर, १९ फागुन । कञ्चनपुरको लालझाडी गाउँपालिकाले विद्यार्थीहरूको गुणस्तरीय शिक्षाको विकास गर्न पढाइ मेला गरेको छ । मूल्य उन्मुख शैक्षिक वातावरण : समग्र लालझाडीको आवरण भन्ने मूल नारा सहित लालझाडी गाउँपालिकाको आधारभूत तथा माध्यमिक शिक्षा कार्यालयले मेला आयोजना गरेको हो । विद्यार्थीहरूको पठनपाठन सीप क्षमतालाई वृद्धि गर्न पुस १ गतेदेखि सुरु गरिएको पढाइ अभियान शुक्रबार विविध कार्यक्रम सहित पढाइ मेला गरी सम्पन्न गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज भट्टले बताउनु भयो ।

यस अवधिमा विद्यालय तथा घरमा समेत पढाइका विभिन्न गतिविधि गर्दै समापनका क्रममा पालिकाभरबाट सहभागी गराई लालझाडी गाउँपालिका वडा नम्बर ४ सिकलपट्टीमा अवस्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा पढाइ मेलाको आयोजना गरी शैक्षिक प्रदर्शनी र अवलोकन, हाजिरीजवाफ प्रतियोगिता, पढाइ प्रतियोगिता, नृत्य, साहित्य तथा कलाको प्रस्तुति लगायतका कार्यक्रम गरिएका छन् । गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, अभिभावक, शिक्षक, विद्यार्थी लगायतको उल्लेख्य सहभागितामा उत्सवकै रूपमा पढाइ मेला गरिएको बताइएको छ ।

बालबालिकाहरूको शैक्षिक विकासका लागि गाउँपालिका केन्द्रित रहेको लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी रानाको भनाइ छ । गुणस्तरीय शिक्षाको विकासका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटिलाई सच्याउने कार्य गरिरहेको बताउँदै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।