हरिश्चन्द्र बाग, कञ्चनपुर, १५ पुस । सुदूरपश्चिम प्रदेशमा आज पुसे पन्ध्र पर्व मनाइँदै छ । हरेक वर्ष पुस १५ गतेलाई सुदूरपश्चिमेलीहरूले विशेष महत्त्वका साथ मनाउने गर्नु भएको छ । ठुली रातका रूपमा समेत मनाइने पुसे पन्ध्रका अवसरमा गाउँका सबै जना एक ठाउँमा जम्मा भएर रातभर देउडा खेल्ने, आगो तापेर जाग्राम बस्ने, दन्त्यकथा, आइनै बातै सुन्ने सुनाउने, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल खाने प्रचलन छ ।

यद्यपि सुदूरपश्चिमका पहाडी भूभागबाट तराइ झरेकाहरूमा भने बिस्तारै यो पर्वको मौलिकता कम हुँदै गएको छ ।

यसै अवसरमा कञ्चनपुरको बेलडाँडीमा 'पौष १५ विशेष सांस्कृतिक कार्यक्रम' भइरहेको छ । बेलडाँडी पर्यटन प्रवर्द्धन समिति र बेलडाँडी युवा समाजको सहकार्यमा 'पौष १५ विशेष सांस्कृतिक कार्यक्रम' आयोजना भइरहेको हो । स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्दै मौलिक पहिचान झल्किने संरचना निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजक बेलडाँडी पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष गोकर्ण जोशीले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय कलाकारहरूले आफ्ना प्रतिभा प्रदर्शन गर्न पाउने बताइएको छ । यसले उहाँहरूलाई थप प्रोत्साहन र पहिचान दिलाउने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रस्तुति दिन इच्छुक कलाकारहरूले अग्रिम नाम दर्ता गराउनु पर्ने अध्यक्ष जोशीले भन्नुभयो । गायन तर्फ लोकगीत, देउडा र आधुनिक गीतहरू, नृत्य तर्फ डोटेली र थारु संस्कृतिलाई झल्काउने आकर्षक प्रस्तुति तथा मौलिक संस्कृति र मौलिकतालाई उजागर गर्ने विविध सांस्कृतिक गतिविधिहरू गरिने भनिएको छ । सांस्कृतिक धरोहरको संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन सम्पूर्ण स्थानीय बासिन्दालाई सहभागी हुन आग्रह गरिएको छ । कार्यक्रम बेलडाँडी गाउँपालिका वडा नम्बर २ चवन्नी बजार पछाडिको खुला मैदानमा दिउँसो २ बजेदेखि आयोजना हुने जनाइएको छ ।