हरिश्चन्द्र बाग / माधव पौडेल, कैलाली, २९ बैशाख । कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले एसईई परीक्षा उत्तीर्ण प्रतिभाशाली, जेहेन्दार तथा विभिन्न क्षेत्रमा उत्कृष्ट क्षमता भएका विद्यार्थीका लागि कक्षा ११ को अध्ययनमा आकर्षक पूर्ण छात्रवृत्ति योजना सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका सिइओ गणेश प्रसाद जोशीले प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा उत्कृष्ट हुने २५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने जानकारी दिनुभयो ।
साथै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट दुई दुई जना विद्यार्थीलाई समेत पूर्ण छात्रवृत्तिमा अध्ययनको अवसर दिइने उहाँले बताउनु भयो ।
विद्यालयका अनुसार एपीआई एजुकेशन प्रोजेक्ट अन्तर्गत व्यवस्थापन संकायमा १ जना छात्र र १ जना छात्रालाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति उपलब्ध गराइनेछ । विद्यालयमा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल व्यवस्थापन संकायमा अध्ययनको अवसर रहेको छ । छात्रवृत्ति वितरण एसईई नतिजा, प्रवेश परीक्षा र अन्तर्वार्ताको आधारमा गरिने जनाइएको छ । विद्यालयले शैक्षिक उपलब्धिसँगै खेलकुद, विज्ञान तथा गणित प्रतियोगिता, संगीत, नृत्य, कला, वक्तृत्वकला, नेतृत्व विकास र उद्यमशीलतामा उत्कृष्ट विद्यार्थीलाई विशेष प्राथमिकता दिने जनाएको छ ।
छात्रवृत्तिका लागि निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईई नतिजा, सम्बन्धित वर्ग खुल्ने प्रमाणपत्र तथा दुई प्रति पासपोर्ट साइज फोटो अनिवार्य रूपमा पेश गर्नुपर्नेछ ।
आधुनिक शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक टोली र विद्यार्थीमैत्री वातावरणका कारण चैतन्य पाठशाला पछिल्ला वर्षहरूमा विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको छ । विद्यालयमा स्मार्ट बोर्डसहितका वातानुकूलित कक्षाकोठा, अत्याधुनिक कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, जीवनोपयोगी सीप प्रयोगशाला, स्विमिङ पुल, स्केटिङ पार्क र फुटसल मैदानजस्ता सुविधा उपलब्ध छन् ।
विद्यालयका अनुसार छात्रवृत्ति आवेदन फारम वितरण बैशाख २९ गतेदेखि जेठ ०८ गतेसम्म हुनेछ भने छात्रवृत्ति परीक्षा जेठ ०९ गते बिहान ११ बजे सञ्चालन गरिनेछ ।