हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ जेठ । सुदूरपश्चिमको समग्र मार्गचित्र तयार गर्न सार्थक संवाद गर्ने उद्देश्यले ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु गरिएको छ । सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा शनिबारदेखि कैलालीको धनगढीमा ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु गरिएको हो ।
दुई दिवसीय उक्त कार्यक्रमको उद्देश्य सुदूरपश्चिमको स्वाभिमान, ऐतिहासिक विरासत र पहिचानलाई उजागर गर्नु रहेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, रोजगारी, पूर्वाधार, सुरक्षित आप्रवासन तथा सुशासनका विषयमा नीतिगत बहस गरी साझा विकास दृष्टिकोण तयार गरिने बताइएको छ । कार्यक्रमबाट प्राप्त निष्कर्ष तथा सुझावलाई आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माण प्रक्रियामा समावेश गर्न केन्द्र सरकारसमक्ष पठाइने आयोजक पक्षले जनाएको छ । उक्त कार्यक्रममा संघ, प्रदेश तथा स्थानीय तहका सरकारी निकाय, निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, नागरिक समाज, सञ्चारकर्मी तथा विज्ञहरूको सहभागिता रहेको छ ।
शनिबार बिहान कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा रहेका अपार सम्भावनालाई सही ढंगले उपयोग गर्न सके समृद्धिको ढोका खुल्ने दाबी गर्नुभयो । उहाँले प्रदेशमा अझै गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमानता, युवापुस्ताको पलायन र नीति कार्यान्वयनका चुनौती कायम रहेको उल्लेख गर्दै यस्ता बहसले सरकारलाई नीतिगत सुधारका लागि स्पष्ट मार्गदर्शन दिने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री शाहले दुई दिनसम्म चल्ने छलफलबाट प्राप्त निष्कर्ष आगामी नीति तथा कार्यक्रम र बजेट निर्माण प्रक्रियामा उपयोगी हुने बताउनु भयो ।
कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले पर्याप्त स्रोत, साधन र सम्भावना हुँदाहुँदै पनि सुदूरपश्चिम अपेक्षित रूपमा समृद्धितर्फ अघि बढ्न नसकेको धारणा राख्नुभयो । उहाँले यस्ता कार्यक्रमले प्रदेशको सम्भावना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न मद्दत पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा भारतको कुमाउँ विश्वविद्यालयका प्राध्यापक डा. रितेश शाहसहित विभिन्न क्षेत्रका विज्ञहरूले सुदूरपश्चिमको सम्भावना र विकासका विषयमा धारणा राख्नु भएको छ ।