हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ चैत्र । रङ्गहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइएको छ । एकापसमा मैत्री भाव प्रकट गर्न सामूहिक रूपमा भेला भएर एक अर्कामा रङ्ग दलेर मनाइने होली पर्वको रौनक भने कोभिड १९ महामारीका कारण यस वर्ष पनि केही खुम्चिएको छ । यस वर्ष बिहीबार उपत्यका सहित नेपालका पहाडी तथा हिमाली क्षेत्रमा होली पर्व मनाइएको छ भने शुक्रबारका दिन तराइमा होली पर्व मनाइएको छ ।
यता सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लामा मात्रै बसोबास गर्ने रानाथारु समुदायले भने एक महिना भन्दा बढी समयसम्म आफ्नै मौलिकताका साथ होली पर्व मनाउने गर्दछन् । रानाथारु समुदायको सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्व होरी भने माघ शुक्ल पूर्णिमाको दिनमा होरी राखी फाल्गुन पूर्णिमाको दिन जलाउने र त्यसको भोलिपल्ट टिका लगाई आठौँ दिन खख्डेहरा मनाउने गरेको नेपाल राना थारु समाजका पूर्व केन्द्रीय सचिव नन्द कुमार रानाले बताउनु भयो । होली पर्वलाई सभ्य र भव्य ढङ्गबाट मनाउनको लागि पुरानो पीढीबाट नयाँ पुस्ताले संस्कृति अनुशरण गर्न आवश्यक छ भने होलीका नाममा हुने गरेका विभिन्न उच्छृङ्खल क्रियाकलापलाई रोक्न सम्बन्धित निकायले जागरूक हुनुपर्ने देखिन्छ ।