विकास सिंह महता, कञ्चनपुर, ८ असार । सामुदायिक तथा निजी विद्यालयका बालबालिकाहरूमा खोप लगाउने कार्यक्रम अन्तर्गत असार ९ गते बिहीबारदेखि कञ्चनपुर जिल्ला व्यापी रूपमा कोभिड-१९ विरुद्धको फाइजर-बायोएनटेक खोप सेवा सञ्चालन हुने भएको छ । जसको पूर्व सन्ध्यामा सहयात्रा नेपाल कञ्चनपुरको आर्थिक सहयोगमा कृष्णपुर नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य शाखा र शिक्षा शाखाको समन्वयमा सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरूसँग अभिमुखीकरण कार्यक्रम गरिएको छ । कोभिड-१९ फाइजर-बायोएनटेक खोप सेवा सञ्चालनका लागि लक्षित उमेर समूह ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई खोप सेवा दिइने छ ।
खोप सेवा कार्यक्रम सञ्चालन गर्नका लागि कार्य तालिका तय गरेको हुँदा त्यसैको पूर्व सन्ध्यामा बुधबार कृष्णपुर नगरपालिकाको सभा हलमा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको सहयात्रा नेपाल कञ्चनपुरका कोभिड-१९ रेस्पोन्स अफिसर धर्मेन्द्र सिंहले बताउनु भयो । अभिमुखीकरण कार्यक्रममा कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले पालिका अन्तर्गत रहेका सामुदायिक तथा निजी विद्यालयका शिक्षकलाई फाइजर-बायोएनटेक खोप सेवा सञ्चालन बारेमा अभिमुखीकरण गर्नु भएको थियो ।अभिमुखीकरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्ट, सामुदायिक तथा निजी विद्यालयका प्रतिनिधि, सहयात्रा नेपालका कोभिड-१९ रेस्पोन्स अफिसर धर्मेन्द्र सिंह, कोभिड- १९ कन्सल्टेन्ट कमल जागरी र पत्रकार लगायतको उपस्थिति रहेको थियो । सहयात्रा नेपाल सामुदायिक क्षेत्रमा अग्रसर रहँदै विगत लामो समयदेखि कार्य गर्दै आएको एक गैरसरकारी संस्था हो ।