श्रावण महिनाको शीतलता, झरिबारिको हरियाली र त्यसमाथि आत्मीयता मिसिएको एउटा सादा परिकार 'खिर' । नेपाली समाजमा यो केवल मिठो परिकार मात्र होइन, सांस्कृतिक भावनाको प्रतीक पनि हो । विशेषगरी श्रावण १५ का दिन खिर पकाउने परम्परा हाम्रो घर परिवार, समाज र संस्कृतिसँग गहिरो रूपमा गाँसिएको छ । दूध, चामल, चिनी वा गुड, सुकमेल, घिउ यी सामग्रीहरू सामान्य देखिए पनि यिनको संयोजनमा हाम्रो आत्मीयता, श्रद्धा र सामूहिकताको स्वाद मिसिएको हुन्छ । खिर पकाउनु भनेको केवल परिकार तयार गर्नु मात्र होइन, त्यो त आफ्ना पुर्खाको सम्झना, परम्पराको पुनःस्मरण र आफ्नोपनको निरन्तरता पनि हो ।
धार्मिक र सांस्कृतिक सार्थकता ।।
श्रावण महिना हिन्दू धर्मशास्त्रमा व्रत, संयम र शिवभक्तिको महिना मानिन्छ । नागपञ्चमी, जनैपूर्णिमा, रक्षाबन्धनजस्ता पर्वहरूले यो महिनालाई धार्मिक दृष्टिले झनै अर्थपूर्ण बनाउँछन् । यस्तै सन्दर्भमा श्रावण १५ को दिन खिर पकाउने, खाने र बाँड्ने चलनले सामाजिक आत्मीयता झल्काउँछ । कृषिकालको दृष्टिले पनि यो समय महत्वपूर्ण हुन्छ । हलोजोतको विश्रामको समय, बालीले खेत ढाकिसकेको, घरमा दूध प्रशस्त हुने र मौसम चिसो भइरहेकाले खिर जस्तो हल्का, पचाउन सजिलो र स्वादिलो परिकारको चयन सान्दर्भिक हुन्छ ।
खिर : स्वादभन्दा माथिको संस्कार ।।
नेपाली समाजमा खिर जन्मदेखि मृत्युसम्मका थुप्रै अवसरमा अनिवार्य जस्तो मानिन्छ । व्रतबन्ध, पूजा, जन्मोत्सव, श्राद्ध तर्पणदेखि दान धर्मसम्ममा खिरको उपस्थिति रहँदै आएको छ । यसको सेतो रङ पवित्रताको संकेत हो भने मिठास स्नेहको परिचायक हो । शहर-गाउँ, धनी-गरिब, जातपात फरक नपारी खिर हरेकको भान्सामा समान सम्मानका साथ स्थान पाउँछ । यही त हो हाम्रो संस्कारको गहिरो थालो । जहाँ हामी एउटै परिकारमा अघिल्लो पुस्ताको सम्झना र आगामी पुस्ताको जिम्मेवारी अनुभूत गर्छौँ ।
आजको सन्दर्भमा खिरको सन्देश ।।
आज बजारमा चटपटे, आइस्क्रीम, बेकरी र आयातित फास्ट फुडको हल्ला चलिरहेको बेला खिर हामीलाई हाम्रो मौलिकताको फेरि सम्झना गराउने मधुर संकेत हो । खिर पकाउनु भनेको केवल मिठो परिकार बनाउनु मात्रै होइन, त्यो त सादगी, श्रम, श्रद्धा र समर्पण मिसिएको सांस्कृतिक अभ्यास पनि हो । श्रावण १५ मा खिर पकाउनु, आफन्तजनसँग साटासाट गर्नु र विशेषगरी अरूलाई खुवाउनु यी सबै क्रियाकलापहरूमा आत्मीयता, साझा भाव र परम्पराको उत्तराधिकार झल्किन्छ ।
मिठास पुस्तौँसम्म बाँकी रहोस् ।।
हुन त खिर केही मिनेटमै पाक्छ, तर यसको मिठास पुस्तौंसम्म बाँकी रहन्छ । खिर हाम्रो घरभित्र मात्र होइन, हृदयभित्र समेत पाक्ने परिकार हो । जसरी हाम्रा पुर्खाले यो परम्परा जीवित राखे, त्यसैगरी आज हामीले पनि यसलाई आत्मसात् गर्दै आफ्ना सन्तानमा हस्तान्तरण गर्नु पर्ने जिम्मेवारी बोकेका छौँ । श्रावण १५ को खिर, यो स्वाद मात्र होइन, त्यो संस्कारको निरन्तरता पनि हो ।