तर्कराज भट्ट, डडेलधुरा, ०९ जेठ । डडेलधुरा जिल्लामा पाँच दिवसीय निःशुल्क योग महोत्सव मंगलबारबाट सुरु भएको छ । 'योग र आयुर्वेदको प्रयोग गरी स्वस्थ जीवन जिउन विभिन्न प्रकारका रोगबाट मुक्ति प्राप्त गरौँ’ भन्ने मूल ध्येयका साथ निःशुल्क योग महोत्सव सुरु गरिएको हो ।
पतञ्जलि योग समिति डडेलधुराको आयोजनामा डडेलधुरा जिल्लाको टुँडिखेलमा जेठ ९ गते मंगलबारदेखि जेठ १३ गते शनिबारसम्मका लागि योग महोत्सव सञ्चालन भएको हो । पतञ्जलि योग समिति नेपालका प्रमुख पूज्य साध्वी देवआदितिको सान्निध्य सञ्चालन भएको योग महोत्सवमा योग साधना, शारीरिक अभ्यास, प्राणायाम लगायत सत्सङ्ग तथा आयुर्वेदिक औषधीय उपचार तथा योग स्वास्थ्य परामर्शका विषयमा साधकहरूलाई जनचेतनामूलक जानकारी तथा प्रशिक्षण गराइन लागिएको पतञ्जलि योग समिति सुदूरपश्चिम सह प्रभारी गोविन्द खडायतले जानकारी दिनुभयो ।