वैदिक सनातन एवम् हिन्दु पञ्चाङ्ग अनुसार हेमन्त ऋतु अन्तर्गतको मार्ग महिना उत्पत्तिका एकादशी कृष्णपक्षको एघारौँ तिथिलाई भनिन्छ । एकादशी व्रत, उपासना एवं उपवासको लागि महत्त्वपूर्ण तिथिको रूपमा मानिन्छ । सामान्यतया पञ्चाङ्गले एक महिनामा दुई वटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरू हरेक महिनामा दुई दिन नुन र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्ने गर्छ । मार्ग महिनाको कृष्ण पक्षमा एकादशीको उत्पत्ति भएको हुनाले यस व्रतको अनुष्ठानको प्रारम्भ यसै दिनबाट गर्नुपर्दछ ।
पद्मपुराणमा धर्मराज युधिष्ठिरद्वारा भगवान् श्रीकृष्ण सँग पुण्यमयी एकादशी तिथिको उत्पत्तिका विषयमा जिज्ञासा राख्दा भगवान्ले बताउनुभयो- सत्य युगमा मुर नामक भयङ्कर दानवले देवराज इन्द्रलाई पराजित गरेर जब स्वर्गमाथि आफ्नो आधिपत्य जमायो, तब सबै देवता महादेवको शरणमा पुगे । महादेव देवगणलाई साथमा लिई क्षीर सागर जानुभयो । त्यहाँ शेष नागको शय्यामा योग-निद्रामा लीन हुनु भएका भगवान् विष्णुलाई देखेर देवराज इन्द्रले वहाँको स्तुति गरे । देवताहरूको अनुरोधमा श्रीहरिले त्यस अत्याचारी दैत्यउपर आक्रमण गर्नुभयो। असङ्ख्य असुरहरूको संहार गरेर नारायण बदरिका श्रम जानुभयो । त्यहाँ गई भगवान् बाह्र योजन लामो सिंहावती गुफामा निद्रालीन हुनुभयो। केही समयपछि मुरदानव पनि विष्णु भगवानकाे खोजीमा त्यतै गयो । जाँदा–जाँदै विष्णु भगवान् सुतिरहेको गुफामा मुरदानव त पुग्यो । तर, आश्चर्य के हुन गयो भने मुरदानव त्यहाँ पुग्नासाथ उसले त्यहाँ हातमा खड्ग, तरबार आदि जस्ता सबै शस्त्र–अस्त्र धारण गरेकी एक दिव्य स्वरुपिणी स्त्रीलाई देख्यो । सुन्दरी स्त्रीलाई देखेर मोहित भई आफ्ना शत्रु विष्णु भगवान्लाई मुरदानवले भुल्यो । अब उसले प्रेमका कुरा गर्न थाल्यो ।
साथै, सुन्दरीसँग विवाहको प्रस्ताव पनि राख्यो । मुरदानवका यस्ता कुरा सुनेपछि ती सुन्दर स्त्रीले भन्न लागिन्, ‘हे दानवराज ! मेरो एक प्रतिज्ञा छ त्यो के त भने जसले युद्धमा मलाई जित्छ, त्यसैसँग मैले विवाह गर्नेछु ।’ सुन्दरीको यस्तो कुरा सुनेर असाध्यै खुसी हुँदै त्यो दुष्ट मुरदानवले उनको प्रस्ताव स्वीकार ग¥यो । दुवैले आ–आफ्ना शस्त्र–अस्त्र धारण गरेर युद्ध गर्न थाले । केही समयसम्म घमासान युद्ध भयो । आखिरमा शक्तिरुपिणी स्त्रीले मुरदानवको शिर काटिदिएर दुई टुक्रा पारिन् र उसको मृत्यु भयो । ठिक त्यसै समयमा विष्णु भगवान् आफ्नो योग निन्द्राबाट ब्युँझेर आफूसामु हेर्दा एक दिव्य रूप धारण गरेकी स्त्रीलाई देखेर आश्चर्य मानी भन्न लागेछन्, ‘हे देवी ! तिमी को हौ ? यहाँ तिमी कहाँबाट कसरी आयौ ? यो सुनेर स्त्रीले भन्न लागिछन्, ‘हे प्रभु ! म तपाईँका दश इन्द्रिय र एकमन गरी ११ इन्द्रियहरूलाई वशीभूत पारी योग निन्द्रामा रहनुभएको अवस्थामा तपाईँको योग बलद्वारा उत्पत्ति भएकी शक्ति स्वरुपिणी एक भक्ति हुँ ।मेरो नाम २४ स्वरुपिणी एकादशी हो । तपाईँको तपबाट उत्पत्ति भएकी हुनाले म एक तपस्विनी पनि हुँ ।
ती स्त्रीको यस्तो बोली सुनेर विष्णु भगवान् अति खुसी हुँदै भन्न लागेछन्, ‘हे तपस्विनी ! हे एकादशी ! आज तिम्रो उत्पत्ति भएर यो दुष्ट मुरदानवको वध हुनाले संसारभरि आनन्दै–आनन्द छाएको छ । मैले तिमीलाई वरदान दिन्छु, ल जे माग्छ्यौ माग ।’ भगवान्को यस्तो वचन सुनेपछि एकादशीले भन्न लागिछन्, ‘हे प्रभु ! तपाईँ मदेखि यदि प्रसन्न हुनुहुन्छ भने मलाई यस्तो वरदान दिनुहोस् कि जसले मेरो नाममा व्रत गर्छ, त्यसका सम्पूर्ण पापहरू नष्ट भएर आयु, आरोग्य, ऐश्वर्यवान् भई मृत्युपश्चात् बैकुण्ठलोक प्राप्त हुन सकोस् । एकादशीका यस्ता कुरा सुनेपछि विष्णु भगवान्ले तथास्तु भन्दै भुक्ति, मुक्ति सबै थोक प्राप्त हुने सङ्केत पनि दिए । श्रीहरिद्वारा अभीष्ट वरदान पाएर परम पुण्यप्रदा एकादशी असाध्यै खुसी भइन् । जो मनुष्यले जीवनपर्यन्त एकादशीको उपवास गर्दछ, त्यो मरणोपरान्त वैकुण्ठ पुग्दछ। एकादशी समान पापनाशक व्रत अर्को कुनै पनि छैन। एकादशी-माहात्म्य सुन्नाले मात्र सहस्र गोदानको पुण्य फल प्राप्त हुन्छ।
एकादशीमा उपवास गरेर रात्रि-जागरण गर्नाले व्रत लिने व्यक्ति श्रीहरिको अनुकम्पाको भागीदार हुन पाउँछ। उपवास गर्न असमर्थ व्यक्तिले पनि एकादशीका दिन कमसेकम अन्नको परित्याग गर्नुपर्छ। एकादशीमा अन्न सेवन गर्नाले पुण्य नाश हुन्छ तथा ठुलो दोष लाग्छ। यस्ता मानिसले एकादशीका दिन एक समय फलाहार गर्न सक्नेछन्। एकादशीको व्रत समस्त प्राणीहरूका लागि अनिवार्य मानिएको छ। पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि सङ्कटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ । हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलग-अलग लाभ रहेको हुन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति पाउने एवं विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ । यस्तो गरिमामय पौराणिक गाथा बोकेकी सर्व तीर्थ स्वरुपिणी, सर्व बिघ्न नासिनी, सिद्धिदात्री देवी एकादशीको व्रत, उपासना प्रत्येक मनुष्यले गर्न अत्युत्तम मानिएको छ । एकादशीहरू सबै समान, उत्तम फलदायिनी तर केही फरक पौराणिक गाथा बोकेका भए तापनि मान्यता क्रममा यिनीहरू सबै एकै हुन्छन् । वर्षभरिका एकादशीहरू सबैको व्रत गर्नु अत्युत्तम, तर देवशयनी, हरिपरिबर्तिनी र हरिबोधिनी एकादशीको व्रत सबैले लिनै पर्ने प्रावधान हिन्दु ग्रन्थहरूमा बताइएको छ ।
एकादशीको व्रत गर्दा १३ वटा गुणहरू अनिवार्य हुनुपर्छ जस्तै: (१) क्षमा, (२) सत्य, (३) दया, (४) शौच, (५) दान, (६) इन्द्रियनीग्रह , (७) देव पूजा, (८) होम, (९) सन्तोष, (१०) चोरी नगर्नु, (११) ब्रह्मचर्यको पालना, (१२) अहिंसा, (१३) रस स्वादको त्यागीको पालना गर्नु अत्यावश्यक हुन्छ । उत्पत्तिका एकादशीलाई सम्पूर्ण एकादशीहरूकी माता स्वरुपिणी मानिन्छ । आजको यसै दिन विष्णु भगवान्को शरीरबाट उत्पत्ति भई भगवान्कै श्री अङ्गमा निवास गर्ने एकादशी तिथिको विशेष गरी हिन्दु समाजमा असाध्यै ठुलो महिमा छ । जन्म–जन्ममा गरेका पाप जति सबै पखालेर जीवन शुद्ध, निर्मल र गङ्गामय बनाई अपार सुख, समृद्धि दिलाएर मृत्युपश्चात् मोक्ष गराइदिने करुणामयी तथा शक्ति स्वरुपिणी एकादशी व्रतको उपादेयताबारे बखान जति गरे पनि थोरै नै हुन्छ । साक्षात् देवी स्वरुपिणी यस उत्पत्तिका एकादशीको हामी सबैले व्रत, उपासना गरौँ, जीवन पुण्यमय र धन्य बनाऔँ । मृत्युपश्चात् आफू जाने सत्मार्गको रूपरेखा कोरी परमधाम प्राप्त गर्न सकौँ । यस प्रसङ्गमा समस्त हिन्दु बन्धु–बान्धवहरूलाई मेरो यही प्रातःकालीन नमन छ । अस्तु !