प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने विद्याकी देवी सरस्वतीको पूजा यस वर्ष फागुन २ गते बुधबार मनाइँदै छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा रहिआएको छ ।
एक पटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए । पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो।
यसै समयदेखि वसन्त राग गाउन थालियो । सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा विद्यार्थीलाई पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । सरस्वती पूजाको दिन साना बालबालिकालाई अक्षरारम्भ गराइन्छ । सरस्वतीको पूजाको दिन अक्षरारम्भ गरिए विद्या बुद्धि बढ्ने विश्वास रही आएको छ।
चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, बागेश्वरी, कौमारी जस्ता नामले पुकार्ने गर्दछन्। विद्या र सृजनाकी देवी भएकाले ज्ञान आर्जन गर्ने साधनको रूपमा रहेको कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई पनि सरस्वतीको रूपमा पूजा आराधना गर्ने गरिन्छ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको ठूलो पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्त्व छ। यसै दिन विवाह, व्रतबन्ध, बालकहरूको कर्णवेद तथा चुडाकर्म, बालिकाको नाक- कान छेड्ने, गुफा बस्ने जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने धार्मिक विश्वास समेत रही आएको छ। आजको दिन विशेष गरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्।
आजको दिन बिहानै उठेर नुहाइसकेपछि पवित्र आचरण र वाणीको सङ्कल्प लिँदै माता सरस्वतीको पूजा गर्दा चन्दन, अक्षता, सेतो र पहेँलो फूल, सेतो चन्दन र सेतो वस्त्र देवीलाई चढाउनु उत्तम मानिन्छ । प्रसादमा पहेँलो चामल, खीर, दूध, दही, मक्खन, सेतो तिलको लड्डु, घिउ, नरिवल, सक्खर र मौसम अनुसारको फल चढाइ माता सरस्वतीसँग बुद्धि र सफलताको कामना गरेर घिउको दियो बाल्दै आरती गर्नु राम्रो मानिन्छ । पढाइमा मन नलाग्ने विद्यार्थीहरूले देवी सरस्वतीको नित्य पूजन गरेमा अतिशीघ्र लाभ पाउँछन् भन्ने जन विश्वास समेत रहेको छ ।
सरस्वती स्त्रोत्रम्
सरस्वती मया दृष्टा वीणा पुस्तक धारिणी।।
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे।।१।।
प्रथमं भारती नाम द्धितीयं च सरस्वती।।
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा।।
सप्तमं चैव कौमारी चाष्टमं वरदायिनी।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी।।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।
द्वादशै तानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः।।
जिहाग्रे वसते तम्य ब्रम्हारुपा सरस्वती।।५।।